काठमाडौं , कार्तिक १७ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
भूमिसुधार विभागअन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ । आयोगले आचार्य, उनकी श्रीमती ललिता राजभण्डारीसहित अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आचार्य २०५४ साल माघमा खोटाङको जिल्ला विकास समितिमा गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए । २०८० साल मंसिर २१ गतेसम्म विभिन्न सार्वजनिक पदमा रहँदा उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
उक्त अवधिमा आचार्य र एकाघर परिवारका सदस्यको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा देखिएको छ । पारिश्रमिक, तलबभत्ता, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा, कृषि आय र ब्याजलगायतका स्रोतबाट उक्त आम्दानी भएको आयोगले जनाएको छ ।
तर सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद र बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीलगायतमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगको भनाइ छ ।
वैधानिक आम्दानी र खर्च तथा लगानीबीचको अन्तरका आधारमा ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आयोगको दाबी छ । उक्त सम्पत्ति श्रीमती तथा परिवारका सदस्यको नाममा राखिएको र विभिन्न व्यक्ति तथा कम्पनीमार्फत खरिदबिक्री तथा लगानी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
त्यस्तै, गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउन सम्पत्ति स्थापना, तहकीकरण र एकीकरणसमेत गरेको आरोप आयोगले लगाएको छ ।