( ग्यासु मिया देवान )
बीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को आयोजनामा कार्यकर्ता भेटघाट तथा स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर २ का सभापति शमशाद आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माननीय हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा स्थानीय टोलवासी, बुद्धिजीवी, सर्वसाधारण तथा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीयवासीहरूले आफ्ना टोल तथा क्षेत्रका विभिन्न समस्या र गुनासाहरू सांसद हरि पन्तसमक्ष राखेका थिए।
विशेषगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको छठघाटको व्यवस्थापन, इदगाहसँग सम्बन्धित समस्या तथा ताराचन्द स्कुलको शैक्षिक उन्नति र विकासका विषयमा स्थानीयवासीहरूले ध्यानाकर्षण गराएका थिए।
स्थानीयवासीका समस्या तथा गुनासाहरू सुनेपछि सांसद हरि पन्तले उठाइएका विषयहरूको यथाशीघ्र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय जनताका समस्या बुझ्न र तिनको समाधानका लागि आवश्यक पहल गर्न यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आफ्ना समस्या जनप्रतिनिधिसमक्ष प्रत्यक्ष रूपमा राख्न पाएकोमा खुसी व्यक्त गरेका थिए।
यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै स्थानीय विकासका आवश्यकता पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीयहरूले बताए।
कार्यक्रममा स्थानीय विकास, जनताका समस्या तथा सार्वजनिक सरोकारका विषयमा उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी बीरगञ्ज २ छप्कैयाका सभापति शमशाद आलमले बताए ।












