काठमाडौ / अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्दै आएका १० जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपाल एपीएफ इन्टेलिजेन्स ब्युरोले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार २०८३ असोज २८ गते काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका विदेशी नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाइएको छ।
पक्राउ पर्नेहरूमा ४५ वर्षीय मोहम्मद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेका छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण हेडक्वार्टर (विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा), बाघभैरव काठमाडौंमा कार्यरत टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
पक्राउ परेका विदेशी नागरिकहरूलाई अध्यागमन विभागमा बुझाइएसँगै उनीहरूको प्रवेशसम्बन्धी विवरण तथा आवश्यक कानुनी प्रक्रियाबारे सम्बन्धित निकायले थप कारबाही अघि बढाउने सशस्त्र प्रहरी बलले बताए ।

