वीरगंज, १८ असोज –
पर्साको जगरनाथपुर गाउँपालिका-२ स्थित दसौता-इनर्वा (बिहार) भन्सार जोड्ने सडकमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा कडाइ गरिएपछि स्थानीयले आज बिहान केहीबेर चक्काजामसहित प्रदर्शन गरेका छन्।
भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनलाई उक्त नाकाबाट इन्ट्रीमा रोक लगाइएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। कडाइका कारण सर्वसाधारणको आवतजावतदेखि अत्यावश्यक सेवासमेत प्रभावित भएको उनीहरुको गुनासो छ।
स्थानीयको माग भारतीय सवारीसाधनले पनि सोही नाकाबाटै इन्ट्री पाउनुपर्ने भन्ने छ। उनीहरुले भिस्वा नाकामा जस्तै दसौता नाकामा पनि बिना रोकटोक चारपाङ्ग्रे सवारी आवतजावतको व्यवस्था गर्न माग गरेका छन्।
प्रदर्शनपछि सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले स्थानीयसँग छलफल गरेका थिए। उनले स्थानीयका समस्या र माग समेटेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन सुझाव दिएका छन्।
प्रहरी उपरीक्षक क्षेत्रीको सुझावपछि स्थानीयले तत्कालका लागि आन्दोलन र चक्काजाम स्थगित गरेका छन्। साथै स्थानीयले सोमबार जिल्ला प्रशासन कार्यालय वीरगंज गएर ज्ञापनपत्र बुझाउने बताएका छन्।
उपरीक्षक क्षेत्रीले अत्यावश्यक कामले आउने सवारीसाधनलाई सहजीकरण गर्दै आएको बताए। उनका अनुसार एम्बुलेन्स, शववाहन र बिहेबारीका गाडीलाई रोकटोक गरिएको छैन। पर्यटन तथा घुमफिरको उद्देश्यले अनुमति बिना आउने गाडीलाई भने सम्बन्धित नाकाबाट कागजात बनाएर वा अनलाइन इन्ट्री गरेर आउन आग्रह गरिएको उनले स्पष्ट पारे।
हाल पर्सामा वीरगंज, ठोरी र भिस्वा नाकाबाहेक अन्य साना नाकाबाट भारतीय चारपाङ्ग्रे सवारीलाई औपचारिक इन्ट्रीको सुविधा छैन।