काठमाडौं , कार्तिक १७ –
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजको पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ । समान तीन खेल खेलेको जनकपुरले भने दुई जित र एक हारसहित अंकतालिकामा आफ्नो स्थान बनाएको छ ।
आजको दोस्रो खेल साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।
लुम्बिनीले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ । उसले उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
यता, पोखरा एभेन्जर्सले भने यसअघिका दुवै खेलमा हार बेहोरेको छ ।
एनपीएलअन्तर्गत हिजो भएका दुई खेलमा सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाज विजयी भएका थिए । आठ टोली सहभागी प्रतियोगिताको तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।