पर्सा , कार्तिक १९ –
अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर सगरमाथाको आधार क्षेत्र पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरताबाट प्रभावित भएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव साझा गर्दै सगरमाथालाई आफ्नै आँखाले देख्न पाउनु जीवनकै अविस्मरणीय क्षण भएको बताएका छन् ।
वार्नरले तस्बिर र भिडियोले सगरमाथाको वास्तविक सुन्दरता व्यक्त गर्न नसक्ने उल्लेख गर्दै यस्तो अनुभवले संसार कति अद्भुत छ भन्ने महसुस गराउने बताएका छन् । उनले आफू पुगेको स्थान समुद्री सतहबाट करिब १६ हजार फिट उचाइमा रहेको हुन सक्ने पनि बताएका छन् ।
आफूलाई ‘बुल’ अर्थात् साँढे भनेर चिनाउने वार्नरले रमाइलो शैलीमा प्रश्न गरेका छन्, ‘के यो साँढेले सगरमाथा पनि जित्न सक्छ ?’ उनले आधार शिविर पुग्नुअघि नै घाइते भएर फर्किनुपर्ने अवस्था आउन सक्ने भन्दै मजाकसमेत गरेका छन् ।
आफ्नो क्रिकेट करियरमा तीव्र गतिका बलरहरूको सामना गरेको स्मरण गर्दै उनले सगरमाथासँगको चुनौती भने अझ कठिन हुने बताएका छन् । सगरमाथाको चुचुरोसम्म पुग्न सक्ने वा नसक्ने भन्दै उनले सामाजिक सञ्जालमा आफ्ना समर्थकसँग प्रतिक्रिया मागेका छन् ।
भिडियोमा उत्साहका क्रममा केही अशिष्ट शब्द प्रयोग भएको भन्दै वार्नरले त्यसका लागि माफीसमेत मागेका छन् । अत्यधिक चिसोका कारण आफू उत्साहित भएको उनको भनाइ छ ।