काठमाडौं , कार्तिक १९ –
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै तेस्रो जित निकालेको छ ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । जनकपुरका कप्तान हरमीत सिंहले ३३ तथा आदित्य महताले अविजित ३० रन बनाए ।
लुम्बिनीका डार्सी शर्टले ३ विकेट लिए भने शेर मल्ल र तिलक भण्डारीले २–२ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका विशाल सुश्लिङ र राहुल यादवले २–२ विकेट लिए ।
यो जितसँगै लुम्बिनी ४ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा लुम्बिनी एक्लो अपराजित टोलीसमेत बनेको छ । जनकपुर भने ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।
एनपीएलमा आजै हुने दोस्रो खेलमा साँझ ५ बजे वीरगंज किङ्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर ४ खेलबाट ४ अंकसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ भने काठमाडौं २ खेलबाट २ अंक जोड्दै सातौँ स्थानमा रहेको छ ।
आठ टोली सहभागी प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।