रौतहट , कार्तिक १८ –
रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिकै गएराति गोली प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।
गोली लागेर स्थानीय अन्दाजी २८ वर्षीय राकेश यादव घाइते भएका हुन् । उनीमाथि राति करिब सवा ९ बजे पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोलीका छर्रा लागेर यादवको ढाड, दाहिने पाखुरा तथा दुवै खुट्टामा चोट लागेको छ । उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी छवटा छर्रा लागेको बताइएको छ ।
घटनालगत्तै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद गरेको छ । गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।