भैरहवा , असोज १६ –
भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब २ करोड ५१ लाख ९३ हजार रुपैयाँ बराबरका सुनका गहना सशस्त्र प्रहरीले भैरहवाबाट बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर–१ स्थित शान्ति गेटमा बिहीबार जाँच गर्ने क्रममा काठमाडौं–१९ की ४६ वर्षीया ईला पटेललाई शंकास्पद अवस्थामा फेला पारिएको थियो।
खानतलासी गर्दा उनीसँग विभिन्न प्रकारका गहना बरामद भएका हुन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको गहनाको तौल २ किलो ६०५ ग्राम रहेको जनाएको छ। रुपन्देही सुनचाँदी व्यवसायी संघसँग समन्वय गरी परीक्षण गर्दा त्यसमध्ये १ किलो सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा हार, औंठी, चुरा, सिक्री, झुम्का, बाली, पोते, नाकको फूली, ब्रासलेटलगायत विभिन्न प्रकारका गहना छन्।
सशस्त्र प्रहरीले पक्राउ परेकी पटेल र बरामद गहना आवश्यक कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ।