पर्सा , असोज १६ –
पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको वीरगन्जको नारायणी रंगशाला र टी.बी. शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहित बजेट व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद कानुले देशको अर्थतन्त्रमा वीरगन्जको महत्वपूर्ण योगदान रहे पनि खेलकुद पूर्वाधार विकासमा भने शहर उपेक्षित रहेको बताए।
उनले देशकै दोस्रो ठूलो नारायणी रंगशालाको जीर्णोद्धार तथा स्तरोन्नति र सोही परिसरमा रहेको टी.बी. शाह क्रिकेट मैदान निर्माणका लागि सरकारले पर्याप्त ध्यान दिन नसकेको गुनासो गरे। नारायणी रंगशालाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिँदै उनले उक्त रकम पर्याप्त नभएको बताए।
आगामी ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राखेर टी.बी. शाह क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गर्न उनले सरकारसँग आग्रह गरे।
सांसद कानुले रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी विषयसमेत शीघ्र टुंग्याउन माग गरे। जग्गाधनीहरू सरकारले निर्धारण गरेको मुआब्जा लिएर जग्गा छाड्न तयार भए पनि मुआब्जा रकम यकिन गर्ने फाइल करिब एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा रोकिएको उनले बताए।
मुआब्जाको प्रक्रिया लामो समयदेखि अल्झिँदा रंगशाला तथा क्रिकेट मैदानसँग सम्बन्धित पूर्वाधार विकास प्रभावित भइरहेको भन्दै रास्वपा सांसद कानुले उक्त विषयलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।