पर्सा , कार्तिक २० –
नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले विराटनगर किंग्समाथि एकपक्षीय जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई ९ विकेटले हराउँदै काठमाण्डौले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको विराटनगरले कमजोर प्रदर्शन गर्दै १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो। जारी प्रतियोगितामा कुनै टोलीले बनाएको यो अहिलेसम्मकै कम स्कोर हो।
विराटनगरका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले केही समय टिक्दै ३९ रनको साझेदारी गरे। बसिर अहमदले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
८४ रनको सामान्य लक्ष्य पछ्याएको काठमाण्डौले ९ ओभर ४ बलमै एक विकेटको क्षतिमा जित सुनिश्चित गर्यो। डेभिड वार्नरले २४ बलमा ४४ रन बनाए भने विलियम बोसिस्टो २४ बलमा २३ रन जोड्दै अविजित रहे। यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए।
बलिङतर्फ काठमाण्डौका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। करण केसी र सहानले २–२ तथा जहानदाद खान, साहब आलम र देव शाहले एक–एक विकेट लिए।
यस जितसँगै तीन खेलबाट चार अंक जोडेको काठमाण्डौ राम्रो रनरेटका आधारमा अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। सात अंकसहित लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदा तीनै खेलमा पराजित पोखरा एभेन्जर्स पुछारमा छ।
यसअघि भएको अर्को खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो। लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो।
एनपीएलअन्तर्गत आज पनि दुई खेल हुँदैछन्। दिउँसो साढे १२ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् भने साँझ ५ बजे चितवन राइनोजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।