बारा । बारा जिल्लाका तीनवटा स्थानीय तह अन्तर्गतका वन तथा जङ्गल अतिक्रमित क्षेत्रहरूमा बाघको निरन्तर ओहोरदोहोर (मोबिलिटी) देखिन थालेपछि स्थानीय बासिन्दा तथा सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपालको बाघ गणना २०२६ को प्रतिवेदन अनुसार बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिका भित्र पर्ने जङ्गल तथा अतिक्रमित वनक्षेत्रमा हाल ३ वटा स्थायी र ४ वटा अस्थायी गरी कुल ७ वटा पाटे बाघको सक्रियता रहेको पुष्टि भएको छ।
बाघको निरन्तर आवागमन भइरहेको खबर प्राप्त भएसँगै सम्भावित मानवीय तथा पशुचौपायाको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विशेष अपिल जारी गरेको छ। जारी सूचनामा घाँसदाउरा, निगुरो टिप्न वा अन्य कामका लागि बिना सुरक्षा जङ्गल भित्र प्रवेश नगर्न सर्वसाधारणलाई हार्दिक अनुरोध गरिएको छ।
साथै, बाघ प्रकृतिको अनुपम उपहार र पारिस्थितिकीय प्रणालीको अभिन्न मित्र भएकाले यसको संरक्षणमा जुट्न र बाघको प्राकृतिक बासस्थानमा खलल नपुर्याउन समेत सरोकारवालाहरूले आग्रह गरेका छन्।