वीरगंज । भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनका ट्रक चालकहरुसँग ट्राफिक प्रहरीले अनधिकृत रकम असुल्ने गरेको समाचार प्राप्त भएको छ ।
पर्सा जिल्लाको वीरगंजस्थित बहुअरी क्षेत्रमा रहेको ट्राफिक बिटका ट्राफिक प्रहरीले एकीकृत जाँच चौकी (आईसीपी) अलौबाट भन्सार जाँचपास भएर निस्किएका भारतीय नम्बरका मालवाहक गाडीलाई बहुअरी क्षेत्रमा रोकेर ओभरलोडको बहाना बनाउँदै रकम माग्ने गरिएको चालकहरूको गुनासो छ।
चालकहरूका अनुसार माग गरिएको रकम नदिए विभिन्न बहाना बनाएर गाडी रोक्ने, अनावश्यक दुःख दिने तथा गालीगलौजसमेत गर्ने गरिएको छ। उनीहरूले बहुअरी ट्राफिक बिटमा प्रति गाडी ५ सयदेखि १ हजार रुपियाँँसम्म रकम मागिने गरेको हो।
आईसीपीबाट जाँचपास भएर निस्किएका मालवाहक सवारीसाधनमाथि निगरानी गर्ने क्रममा नियम उल्लंघन भेटिए कानुनी कारबाही गर्नुपर्ने भए पनि रकम लिएर छाड्ने गरिएको आरोप छ।
स्थानीय तथा चालकहरूको दाबीअनुसार बहुअरी क्षेत्रमा यस्तो गतिविधि नियमितजस्तै बनेको छ। विशेषगरी भारतीय नम्बर प्लेटका गाडीलाई लक्षित गरी रकम उठाउने गरिएको उनीहरूको भनाइ छ।
पर्सामा बहुअरी र ड्राइपोर्ट क्षेत्रका ट्राफिक प्रहरीमाथि भारतीय मालवाहक तथा ओभरलोड सवारीबाट रकम असुलीको आरोप यसअघि पनि सार्वजनिक हुँदै आएको देखिन्छ।
समाचार स्रोतले बहुअरी ट्राफिक बिटमा कार्यरत असई चित्रन्जन साहको निर्देशनमा प्रहरी सहायक हवल्दार देवीलाल साहले रकम उठाउने गरेका छन।
वीरगंजको आईसीपी नेपाल–भारत व्यापारको महŒवपूर्ण प्रवेशद्वार हो। वीरगंज भन्सार कार्यालयका अनुसार भारतसहित तेस्रो मुलुकबाट विभिन्न वस्तु आयात–निर्यात हुने गर्छ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले त्यस्तो गलत गतिविधि भएको प्रमाणित भए संलग्न जोकोहीलाई विभागीय कारबाही गरिने बताएको छ। प्रहरीले रकम असुली नगरेको दाबी गरे पनि चालक तथा स्थानीयबाट लगातार यस्ता गुनासो आउन थालेपछि सम्बन्धीत निकायले बहुअरी ट्राफिक बिटको गतिविधि, सीसीटीभी फुटेज, ड्युटी विवरण र सवारी जाँचको अभिलेख जाँच गर्नुपर्ने देखिन्छ।