( ग्यासु मिया देवान )
बीरगञ्ज । नेपालीहरूको महान पर्व छठलाई सभ्य, व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले वडा प्रहरी कार्यालय बिर्ताले बीरगञ्जमा रहेका विभिन्न सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूसँग छलफल तथा समन्वय बैठक सम्पन्न गरेको छ।
छठ पर्वका अवसरमा छठघाट तथा आसपासका क्षेत्रमा आवश्यक सरसफाइ, शान्ति सुरक्षा र अन्य व्यवस्थापकीय कार्यलाई प्रभावकारी बनाउन बैठक आयोजना गरिएको हो।
बैठकमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी वरिष्ठ नायब निरीक्षकले छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र तथा विभिन्न छठ व्यवस्थापन समितिका पदाधिकारीहरूलाई आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्न आग्रह गर्नुभयो।
छलफलका क्रममा छठघाटको सरसफाइ, भीडभाड व्यवस्थापन, सुरक्षा सतर्कता तथा पर्वका क्रममा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणलगायतका विषयमा समेत समन्वय गरिएको थियो।
उक्त बैठकमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारका अध्यक्ष वासुदेव सहनी, उपाध्यक्ष प्रदेश कुमार सराफ, सचिव ग्यासु मिया देवानलगायत सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार सन्ध्या कुमारी चौधरीको समेत उपस्थिति रहेको थियो।
छठ पर्वलाई सुरक्षित, स्वच्छ, सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरी प्रशासन तथा सामुदायिक सेवा केन्द्रबीचको सहकार्य र समन्वयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।







