पर्सा , मङ्सिर -१२
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको छ दिन बितिसक्दा पनि नयाँ सरकारको राजनीतिक भविष्य अन्योलमा परेको छ। दोस्रोपटक मुख्यमन्त्री बनेका सरोजकुमार यादवले सर्वपक्षीय सरकार गठन गर्ने दाबी गरे पनि अहिलेसम्म कुनै पनि दलले सार्वजनिक रूपमा समर्थन जनाएका छैनन्।
मुख्यमन्त्री यादवले कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनमत पार्टीसँग सकारात्मक छलफल भइरहेको बताए पनि सरकारमा सहभागी हुने विषयमा दलहरू स्पष्ट निर्णयमा पुग्न सकेका छैनन्। सत्तारुढ जसपा नेपालभित्रै पनि मुख्यमन्त्रीलाई लिएर विवाद देखिएको छ।
यसैबीच, कांग्रेस, एमाले र नेकपाको पुरानो तीन दलीय गठबन्धन ब्युँताएर सरकार गठन गर्ने प्रयाससमेत भइरहेको स्रोतको दाबी छ। सम्भावित सहमतिअनुसार एमाले र नेकपाले तीन–तीन महिना तथा कांग्रेसले पाँच महिना सरकारको नेतृत्व गर्ने गरी छलफल भइरहेको बताइएको छ। तर यसबारे दलहरूले औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्।
मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था कमजोर देखिँदा प्रदेशमा पुनः सत्ता समीकरण परिवर्तनको सम्भावना बढेको छ। विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सक्छ।
मधेश प्रदेशमा पाँच वर्षे कार्यकालभित्रै पाँच जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन्। छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त सरोजकुमार यादवको सरकारले निरन्तरता पाउने वा पुनः सत्ता परिवर्तन हुने भन्ने अन्योल कायमै छ। पटक–पटकको सरकार परिवर्तनले विकास निर्माण, सुशासन र संघीय व्यवस्थाप्रतिको जनविश्वासमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।