पर्सा , मङ्सिर १२ –
भारतसँगको खुला सीमा र सीमावर्ती भारतीय सहर रक्सौलसम्मको सहज आवागमनका कारण पर्सामा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। प्रहरीले निरन्तर कारबाही गरे पनि यसको कारोबारमा कमी आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु वर्षको कात्तिक महिनामा लागूऔषधसम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन्।
प्रहरीले एक महिनाको अवधिमा ३८ किलो गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरेको छ। त्यस्तै, नाइट्राजेपामका ट्याब्लेट, बुप्रेनोर्फिनका २८, डाइजेपामका ३७ र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल इन्जेक्सनसमेत बरामद गरिएको छ।
सीमावर्ती भारतीय सहर रक्सौलमा लागूऔषध सहज रूपमा उपलब्ध हुनु र सेवनकर्ताको सीमापार आवागमनले समस्या थपिएको प्रहरीको बुझाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै लागूऔषध तस्करी तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको बताएका छन्।
तर, पक्राउ र बरामदका घटना सार्वजनिक भइरहे पनि सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रण हुन नसक्नु सुरक्षा निकायका लागि चुनौती र स्थानीयस्तरमा चिन्ताको विषय बनेको छ।