पर्सा , मंसिर १३ –
बारामा २३७ किलो गाँजासहित गाडी बरामद, चालक फरार
बाराको पथलैयामा प्रहरीले २३७ किलो १७० ग्राम गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ। तर गाडीका चालक भने प्रहरीको नियन्त्रणमा आउनुअघि नै फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ करिब ५ः४० बजे जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिक बा.१७ च. २६३६ नम्बरको गाडीलाई चेकजाँच गर्न खोज्दा चालकले गति बढाएर भागेका थिए।
प्रहरीले पछ्याउने क्रममा दुधौरा खोलाको पुलनजिक गाडी छाडेर चालक जंगलतर्फ फरार भएका थिए। गाडीको डिकीबाट रातो प्लास्टिकमा बेरेर राखिएको २३७ किलो १७० ग्राम गाँजाजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार चालकको खोजी तथा गाँजाको स्रोत र कारोबारमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जनाएको छ।