पोखरिया , असोज १७ –
नौ महिनादेखि तलब नपाएको भन्दै पर्साको पोखरिया नगरपालिकाका सफाइकर्मीले काम बन्द गरेपछि नगर क्षेत्रको फोहोर व्यवस्थापन प्रभावित भएको छ।
तलब तथा सेवा–सुविधा भुक्तानी नभएको भन्दै सफाइकर्मीले एक सातादेखि फोहोर सङ्कलन र सरसफाइको काम रोकेका हुन्। काम रोकिएपछि बजार, सडक तथा आवासीय क्षेत्रमा फोहोर थुप्रिन थालेको छ।
सफाइकर्मी लक्ष्मी राउत डोमले लामो समयसम्म पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउन समस्या भएको बताउनुभयो। पटक–पटक तलब भुक्तानीको माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर काम रोक्नुपरेको उहाँको भनाइ छ।
यसअघि पनि करिब दुई महिनाअघि तलब माग गर्दै सफाइकर्मीले काम रोकेका थिए। त्यसबेला नगरप्रमुख तथा वडा अध्यक्ष लक्ष्मण शाह कानुले समस्या समाधान गर्ने आश्वासन दिएपछि उनीहरू काममा फर्किएका थिए। तर, आश्वासनअनुसार तलब भुक्तानी नभएपछि पुनः आन्दोलन गर्नुपरेको सफाइकर्मीको भनाइ छ।
लामो समय सरसफाइ सेवा अवरुद्ध हुँदा फोहोर थुप्रिनुका साथै दुर्गन्ध फैलिने र जनस्वास्थ्यमा असर पर्ने जोखिम बढेको स्थानीयले बताएका छन्। सफाइकर्मीको बक्यौता तलब भुक्तानी गरी नियमित सरसफाइ सेवा सञ्चालन गर्न नगरपालिकासँग स्थानीयले माग गरेका छन्।