बारा , असोज १७ –
बारा क्षेत्र नं. २ का रास्वपा सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको परमादेशपछि गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय, बारामा मुद्दा दर्ता गरिएको हो।
देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पुष्टि गरेका छन्। उनका अनुसार अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको हो। हालसम्म कसैविरुद्ध पक्राउ पुर्जी जारी नभएको उनले बताए।
जाहेरीमा महतोले आफूले गाउँमा हुने गतिविधिको विरोध गरेपछि सामाजिक बहिष्कार गरिएको, सार्वजनिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको र आफ्नो प्रतिष्ठामा असर पर्ने गरी प्रचार गरिएको आरोप लगाएका छन्। उनले घटनासँग सम्बन्धित केही कागजातसमेत प्रमाणका रूपमा पेस गरी आवश्यक अनुसन्धान तथा कारबाहीको माग गरेका छन्।
जाहेरीमा सांसद सिंहसहित १४ जनाको नाम उल्लेख छ। यद्यपि, जाहेरीमा लगाइएका आरोपबारे अनुसन्धानबाट तथ्य पुष्टि हुन बाँकी छ।
प्रहरीका अनुसार यसअघि पनि मुद्दा दर्ताका लागि प्रयास भएको थियो। अदालतको आदेशपछि दर्ता भएको मुद्दामा घटनाको प्रकृति, आरोपसँग सम्बन्धित प्रमाण तथा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताए।