बारा , असोज १८ –
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, सिमरा रंगशालामा सुरु भएको ‘एक्स्ट्रीम छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ को उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लबले विजयी सुरुआत गरेको छ ।
सिमरा भेट्रान क्लबले स्टार स्पोर्ट युवा क्लब माडी (चितवन) लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आयोजक टोलीले ३ अंक जोडेको छ ।
महिला फुटबलको विकास, खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर तथा खेलमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
असोज २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसहित भारतका गरी ८ टोली सहभागी छन् । खेलहरू साँझ ६ बजेदेखि फ्लडलाइटमा हुनेछन् । विजेताले ५ लाख ११ हजार १११ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
टिकट बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत भोटेकोसी बाढी प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।