Menu

आजको मौसम

टेस्लाको मूल्य घट्दा वीरगंज भन्सारको कर निर्धारणमा विवाद

Author
News Feed |
October 03, 2026
Featured

राधेश्याम पटेल,वीरगंज,१७ असोज – 

विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्यमा आएको परिवर्तनअनुसार नेपालमा आयात हुने गाडीको लागत घटे पनि वीरगंज भन्सार कार्यालयले पुरानो मूल्यलाई आधार बनाएर थप राजस्व माग गरेको भन्दै आयातकर्ता कम्पनीले आपत्ति जनाएको छ । कायरोस इन्टरनेशनल प्रालिले चीनमा उत्पादन भएको टेस्ला मोडल वाई आरडब्लुडी आयात गर्दा भन्सार कार्यालयले पुनः थप राजस्व माग गरेको जनाएको हो । कम्पनीका अनुसार वीरगंज भन्सार कार्यालयले असोज ११ गते पत्र पठाउँदै यसअघि छुट भएको भनिएको भन्सार राजस्व दाखिला गर्न ताकेता गरेको छ ।
आयातकर्ताको दाबीअनुसार दुईवटा गाडीमा मात्रै प्रतिगाडी करिब ७८–७९ लाख रुपैयाँका दरले थप राजस्व माग गरिएको छ । यसबाट करिब डेढ करोड रुपैयाँभन्दा बढी दायित्व सिर्जना भएको कम्पनीको भनाइ छ ।
कम्पनीका भन्सार प्रतिनिधि मधुकुमार बरालका अनुसार यी गाडीहरू हालै चीनको सांघाईमा उत्पादन भएर हङकङ हुँदै नेपाल आयात भएका हुन् । त्यसकारण विगतमा अमेरिकामा महगोमा उत्पादन भएर लामो आपूर्ति शृंखलामार्फत नेपाल आएका समान मोडलका गाडीको तुलनामा हालको खरिद तथा ढुवानी लागत कम परेको उनको भनाइ छ ।

पुरानो र नयाँ आयात मूल्यमा ठूलो अन्तर

बरालका अनुसार करिब छ महिनाअघि एरेटे इन्टरनेशनल प्रालिले अमेरिकाबाट टेस्लाको गाडी आयात गर्दा ३४ हजार ५०० अमेरिकी डलर, अर्थात् करिब ५० लाख ६२ हजार १८५ रुपैयाँको मूल्यमा गाडी भित्रिएको थियो । उनका अनुसार उक्त गाडीमा ६० प्रतिशत भन्सार महसुलबापत ३० लाख ३७ हजार ३११ रुपैयाँ, ३५ प्रतिशत अन्तःशुल्कबापत २८ लाख ३४ हजार ८२४ रुपैयाँ, सडक सम्भार दस्तुरबापत ५ लाख ४६ हजार ७१६ रुपैयाँ र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बापत १४ लाख ९२ हजार ५३५ रुपैयाँ राजस्व दाखिला गरिएको थियो । यसरी उक्त गाडीमा कुल ७९ लाख ११ हजार ३८६ रुपैयाँ राजस्व दाखिला भएको थियो । तर अहिले चीनको सांघाईमा उत्पादन भएको सोही ब्रान्ड तथा मोडलको गाडीको खरिद मूल्य नै कम परेको कम्पनीको दाबी छ । जस्तै एपल कम्पनीको आईफोनको नयाँ सिरिज उत्पादन भएसंगै पुरानो मोडेलको भाउ विश्व बजारमा घटछ,त्यसैगरी,टेस्ला गाडीमा नयाँ गाडी बजारमा आएपछि पुरानो मोडेलको भाउँ विश्व बजारमा घटनु स्वभाविक कुरा हो । यो कुरा इन्टरनेटमा समेत देखाउँदा समेत वीरगंज भन्सारले पुरानै भाउमा राजस्व असुल गर्न किन पत्र काटेको हो भन्ने भन्सार एजेन्ट प्रतिनिधि बरालको प्रश्न छ ।
कायरोसका अनुसार हाल आयात गरिएको गाडीको हङकङमा पर्ने एमआरपी २ लाख ५४ हजार हंगकंग डलरबाट भ्याट एवं एजेन्सी छुटका रकम घटाएर मूल्य करिब २ लाख ५०० हङकङ डलर रहेको छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्दा गाडीको आधारभूत मूल्य करिब ३८–३९ लाख रुपैयाँ पर्ने कम्पनीको दाबी छ ।
कम्पनीले उपलब्ध गराएको हिसाबअनुसार उक्त मूल्यमा २० प्रतिशत भन्सार महसुल करिब ७ लाख ७७ हजार ५३९ रुपैयाँ, एकीकृत महसुल करिब १६ लाख ३२ हजार ८३२ रुपैयाँ, सडक सम्भार दस्तुर करिब ३ लाख १४ हजार ९०४ रुपैयाँ र भ्याट करिब ८ लाख ५९ हजार ६७७ रुपैयाँ गरी कुल कर तथा राजस्व करिब ३५ लाख ८४ हजार ९६२ रुपैयाँ पर्ने बताइएको छ ।

जाँचपास भइसकेका गाडीमा थप राजस्व मागिएको गुनासो

कायरोस इन्टरनेशनलका अनुसार चालु आर्थिक वर्षको जुलाई २९ र सेप्टेम्बर ९ मा गरी दुई खेपमा टेस्ला मोडल वाई आरडब्लुडी नेपाल आयात गरिएको थियो । ती गाडीहरू वीरगंज भन्सारबाट जाँचपास भई ग्राहकलाई एमआरपी अनुसार बिक्रीसमेत भइसकेका छन् । तर जाँचपास भएको केही समयपछि केही सञ्चार माध्यमहरुले अतिरञ्जित समाचार प्रकाशित गरेपछि वीरगंज भन्सार कार्यालयको आन्तरिक लेखापरीक्षणबाट राजस्व कम असुल भएको निष्कर्ष निकालिएको भन्दै थप रकम दाखिला गर्न पत्र पठाइएपछि समस्या उत्पन्न भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार गाडी बिक्री भइसकेकाले ग्राहकबाट पुनः थप रकम उठाउन सम्भव छैन । ग्राहकले गाडी खरिद गर्दा तोकिएको मूल्यअनुसार सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । आयातकर्ताले भने भन्सार मूल्य निर्धारण गर्दा गाडी उत्पादन भएको देश, वास्तविक खरिद मूल्य, ढुवानी खर्च र सम्बन्धित आयात कागजात र अनलाइन देखिएको मूल्यलाई आधार बनाउनुपर्ने तर्क गरेको छ ।

विश्व बजारको मूल्य परिवर्तनलाई कसरी हेर्ने ?

आयातकर्ता पक्षले विद्युतीय सवारीसाधनको अन्तर्राष्ट्रिय बजारमा मूल्य परिवर्तन हुने भएकाले केही महिनाअघिको आयात मूल्यलाई आधार बनाएर पछिल्लो आयातमा समेत समान मूल्य कायम गर्न खोज्नु व्यावहारिक नहुने बताएको छ । विशेषगरी टेस्ला जस्तो अन्तर्राष्ट्रिय ब्रान्डको एउटै मोडल विभिन्न उत्पादन केन्द्रबाट फरक लागतमा उत्पादन तथा विभिन्न बजारमा फरक मूल्यमा बिक्री हुन सक्ने भएकाले प्रत्येक आयातको वास्तविक व्यापारिक कागजातका आधारमा मूल्यांकन हुनुपर्ने कम्पनीको भनाइ छ ।

व्यवसायी आन्दोलनमा जाने चेतावनी

थप राजस्वको माग फिर्ता नभए व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । आयातकर्ता पक्षले जाँचपास भएर बिक्री भइसकेका गाडीको मूल्यमा पछि गएर ठूलो कर दायित्व सिर्जना हुँदा व्यवसायी र ग्राहक दुवै प्रभावित हुने जनाएको छ । व्यवसायीहरूको मुख्य प्रश्न भनेको अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य घटेको अवस्थामा वास्तविक खरिद मूल्यका आधारमा भन्सार मूल्यांकन गर्ने कि विगतको आयात मूल्यलाई आधार बनाएर मूल्यांकन गर्ने भन्ने विषयमा स्पष्ट नीति र व्यवहारिक कार्यविधि आवश्यक हुनु पर्ने हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3