वीरगंज , असोज ६ –
प्रस्तावित वीरगंज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ।
विश्वविद्यालय स्थापनाका लागि हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीले एक दिनको तलबसहित पर्साका तत्कालीन गाविस, संविधानसभा सदस्य, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाबाट रकम संकलन गरिएको थियो। अभियानबाट २ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको बताइएको छ।
संकलित रकम वीरगंजस्थित कुमारी बैंकको खातामा राखिएको थियो। प्रहरीका अनुसार उक्त खाताबाट तत्कालीन हरिखेतान क्याम्पस प्रमुख भगवानप्रसाद यादवले चेकमार्फत रकम निकालेको विषयमा अनुसन्धान भइरहेको छ। कीर्ते गरी रकम निकालेर व्यक्तिगत रूपमा अपचलन गरेको आरोपबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सीआईबीले अनुसन्धानको फाइल जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपछि बैंकबाट आवश्यक विवरण मागेर अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले पनि कुमारी बैंकसँग विश्वविद्यालयको खातासम्बन्धी विवरण मागेको थियो। बैंकले उपलब्ध गराएको विवरणमा वीरगंज विश्वविद्यालयको नाममा रहेको खाताबाट भगवानप्रसाद यादवले चेकमार्फत रकम झिकेको उल्लेख छ।
यता, विश्वविद्यालयका लागि योगदान गरेका शिक्षक तथा कर्मचारीले लामो समयसम्म रकम उपयोग नभएको र अहिले रकम निकासीको विषयमा अनुसन्धान सुरु भएपछि आफूहरू निराश भएको बताएका छन्। विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन हुन नसकेपछि स्थापनाको प्रक्रिया अघि बढ्न सकेको थिएन।