( ग्यासु मिया देवान )
बीरगञ्ज / स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बिरगंज माईस्थान पर्साले शिक्षा तथा क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत २५ जना छात्रालाई हाँसका चल्ला वितरण गरेको छ।
संस्थाले २०८३ साल भदौ ३१ गते विश्रामपुर गाउँपालिका–१, छतवा रामटोलमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले हाँसका चल्ला वितरण गरेको हो ।
कार्यक्रमअन्तर्गत २५ जना छात्रालाई प्रतिछात्रा १० वटाका दरले कुल २५० वटा हाँसका चल्ला वितरण गरिएको संस्थाले जनाएको छ ।
विद्यार्थीलाई अध्ययनसँगै सीप तथा आयआर्जनका गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कलैया, बारा क्लस्टरका क्लस्टर प्रमुख जितेन्द्र मिश्र, माईस्थान शाखाका कार्यालय प्रमुख श्याम कुमार रमौली लगायत संस्थाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी विश्रामपुर गाउँपालिका–१ का वडा सदस्य बिसमती राम, श्री दिनदियाल माध्यमिक विद्यालय कल्याणपुरका शिक्षिका बसन्त साह, स्थानीय केन्द्रका केन्द्र प्रमुख तथा सदस्यहरू, स्थानीय भद्रभलाद्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले विद्यार्थीलाई शिक्षा र सीपसँगै आयआर्जनका गतिविधिमा जोड्ने यस्ता कार्यक्रमले उनीहरूमा आत्मनिर्भरता, जिम्मेवारी र उद्यमशीलताको भावना विकास गर्न सहयोग पुग्ने बिश्वास गरिएको बिरगंज शाखा प्रमुख श्याम कुमार रमौलीले बताए ।




