वीरगंज , भदौ १९ –
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार २८७ जनाको शव भेटिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो साढे १२ बजेसम्म आठ जिल्लाबाट ती शव फेला परेका हुन्। रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६३, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५९ शव भेटिएका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ९३ जनाको उद्धार भएको छ भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्।
बाढीमा परी घाइते भएका ५ हजार ३९७ जनामध्ये ३०४ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएकामध्ये ४ हजार ५२१ जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। नुवाकोटमा ३ हजार १८१, रसुवामा १ हजार १४१ र धादिङमा १९९ जना होल्डिङ सेन्टरमा रहेका छन्।
यसैबीच माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि आज बिहान जीवितै उद्धार गरिएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै घाइते र बिरामीको उपचारलाई प्राथमिकता दिइएको छ। अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहत कार्यलाई तीव्र बनाइएको सरकारले जनाएको छ।