रसुवा , भदौ १७ –
भोटेकोशी बाढी गएको पाँच दिन बितिसक्दा पनि रसुवाका केही दुर्गम बस्तीका प्रभावित नागरिकले राहत पाउन सकेका छैनन्। गोसाईंकुण्ड नगरपालिका–३ की पेम्बा ल्हामु तामाङले घरमा भएको खाद्यान्न सकिन थाले पनि हालसम्म राहत नपाएको बताएकी छन्।
बाढीले बस्ती नै प्रभावित भएपछि सडक र विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयको जनजीवन थप कष्टकर बनेको छ। हेलिकप्टरको आवाज सुन्दा राहत आउने आशा लागे पनि आफ्नो क्षेत्रमा हालसम्म राहत नपुगेको पेम्बाको गुनासो छ।
गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले राहतका लागि पटक–पटक प्रयास गर्दा पनि आफ्नो क्षेत्रमा पानीको बोतलसमेत पुग्न नसकेको बताए। उनका अनुसार राहतबारे जानकारी लिन फोन आउने गरे पनि आवश्यक सामग्री भने पर्याप्त रूपमा नआएको हो।
यस्तै, आमाछोङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले सुरुवातमा आएको केही राहत सकिइसकेको बताए। सडक तथा विद्युत् अवरुद्ध हुँदा स्थानीयसँग समेत नियमित सम्पर्क हुन नसकेको उनको भनाइ छ।
सरकार भने राहत पठाइरहेको दाबी गर्छ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने प्रभावित क्षेत्रमा स्थल तथा हवाईमार्गबाट निरन्तर राहत पठाइरहेको जनाएको छ। प्राधिकरणका अनुसार ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत पनि राहत सामग्री ढुवानी गरिएको छ।
सरकारले संकलित राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक तथा रसुवाको उत्तरगयालगायत स्थानमा पुर्याइएको जनाएको छ।
तर, प्रभावित बस्तीमा राहत नपुगेको गुनासो बढेपछि राहत वितरणको अवस्थामाथि प्रश्न उठेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले राहत सामग्री उपलब्ध भए पनि सडक अवरुद्ध र मौसमका कारण आवश्यक मात्रामा प्रभावित क्षेत्रमा पुर्याउन नसकिएको स्वीकार गरेका छन्।
उनका अनुसार सडक अवरुद्ध भएकाले स्थलमार्गबाट राहत लैजान कठिन भएको छ भने मौसमका कारण हेलिकप्टर उडान पनि नियमित हुन सकेको छैन।
यसबीच भारत, चीन, अमेरिका, यूएईलगायत देशबाट समेत नेपाललाई मानवीय सहायता प्राप्त भइरहेको सरकारले जनाएको छ। तर संकलित तथा प्राप्त राहत सामग्री वास्तविक प्रभावित परिवारसम्म छिटो र पर्याप्त रूपमा पुर्याउन नसक्दा दुर्गम बस्तीका नागरिक अझै खाद्यान्न र आधारभूत आवश्यकताको अभावमा छन्।