( ग्यादु मिया देवान )
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईको नेतृत्वमा पर्सा प्रहरीले आपराधिक तथा गैरकानुनी गतिविधिविरुद्ध सक्रियता बढाएको छ।
एसपी भट्टराईले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै प्रहरीले हुन्डी कारोबार, अवैध मालसामान, पेट्रोलियम पदार्थ चोरी, घरेलु मदिरा तथा लागूऔषध नियन्त्रणसँगै फरार प्रतिवादी पक्राउलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार प्रहरीले ठूलो परिमाणमा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई ५२ लाख ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, दराज अनलाइन सपिङको गाडीमा कस्मेटिक सामान लोड गरी ल्याइएको अवस्थामा प्रहरीले ९४ लाख ९१ हजार रुपैयाँ बराबरको अवैध मालसामान नियन्त्रणमा लिएको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी मल्लले जानकारी दिए।
वीरगञ्जस्थित सौदागर पेट्रोल पम्पमा नेपाल आयल निगमका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामारी गरी ट्याङ्करसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको एसपी पवन कुमार भट्टराईले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बैंकिङ कसुर तथा विभिन्न आपराधिक मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई समेत प्रहरीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाउने कार्यलाई तीव्रता दिएको छ।
त्यस्तै, अवैध रूपमा घरेलु मदिरा उत्पादन, ओसारपसार तथा बिक्री वितरण गर्नेविरुद्ध प्रहरीले कडाइ गरेको छ। अभियानका क्रममा प्रहरीले करिब ३ हजार ५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ।
लागूऔषध नियन्त्रणतर्फ पनि पर्सा प्रहरीले विशेष सक्रियता देखाएको छ। प्रतिबन्धित लागूऔषधसम्बन्धी घटनामा २३ जनालाई पक्राउ गर्नुका साथै करिब १०० ग्राम ब्राउन सुगर बरामद गरिएको डीएसपी मल्लले जानकारी दिए।
यसैबीच, वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी गरी लगेको आरोपमा एक महिलालाई शिशुसहित पक्राउ गरी घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
पछिल्लो समय पर्सा प्रहरीले अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, अवैध कारोबार रोकथाम, फरार प्रतिवादी पक्राउ तथा गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको अभियानले जिल्लाको शान्ति–सुरक्षामा सकारात्मक प्रभाव परेको स्थानीयवासी तथा बुद्धिजीवीहरूको भनाइ छ।
स्थानीय बुद्धिजीवीहरूका अनुसार एसपी पवन कुमार भट्टराईको नेतृत्वमा प्रहरीले छोटो समयमै देखाएको सक्रियताले प्रहरीप्रति आम नागरिकको भरोसा र विश्वास बढ्दै गएको छ।
इमानदार, निष्ठावान र कर्तव्यप्रति प्रतिबद्ध नेतृत्वका रूपमा एसपी भट्टराईले पर्सा प्रहरीलाई थप सक्रिय बनाउँदै अपराध नियन्त्रण र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेको स्थानीयवासीहरूको प्रतिक्रिया छ।
पर्सा प्रहरीको पछिल्लो अभियानले जिल्लामा अवैध तथा आपराधिक गतिविधिमाथि निगरानी बढ्नुका साथै शान्ति–सुरक्षा कायम गर्ने प्रहरीको अभियान थप प्रभावकारी बन्दै गएको देखिएको छ।














