रौतहट , असोज ६ –
फतुवा विजयपुर नगरपालिकाका निलम्बित नगर प्रमुख गोपाल राय यादवविरुद्ध लालबकैया नदीको ढुंगा, गिट्टी तथा बालुवा ठेक्का प्रकरणमा विशेष अदालतले गरेको फैसला सर्वोच्च अदालतले पनि कायम गरेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार यादवको पुनरावेदन ‘जिकिर नपुगेको’ भन्दै अस्वीकार गरेको हो। यससँगै यादवलाई विशेष अदालतले सुनाएको तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना कायम भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा लालबकैया नदीको ठेक्का प्रक्रियामा कानुनविपरीत काम गरी स्थानीय तहलाई १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी पुर्याएको आरोपमा यादवसहित २१ जनाविरुद्ध २०७९ असार १२ गते मुद्दा दायर गरेको थियो।
फतुवा विजयपुर र गुजरा नगरपालिकाले संयुक्त रूपमा लगाएको ठेक्कामा बढी कबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न नमानेपछि दोस्रो बढी कबोलकर्तालाई सम्झौताका लागि नबोलाएको र पहिलो बोलपत्रदाताको धरौटी जफत नगरेकोलगायत विषयमा अख्तियारले अनियमितता औँल्याएको थियो।
विशेष अदालतले यादवलाई दोषी ठहर गर्दै तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरेको थियो भने मुद्दाका अन्य २० प्रतिवादीलाई सफाइ दिएको थियो। विशेष अदालतको फैसलाविरुद्ध यादव सर्वोच्च पुगेका थिए।
यादव २०७९ को स्थानीय तह निर्वाचनमा दोस्रोपटक फतुवा विजयपुरको नगर प्रमुखमा निर्वाचित भएका थिए। उनी निलम्बनमा परेपछि उपप्रमुख अम्बेया खातुनले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन्।