बारा , भदौ १८ –
फेटा गाउँपालिकाले रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १९ लाख २ हजार ६३३ रुपैयाँ सहयोग गर्ने भएको छ।
बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जानकारी दिए।
गाउँपालिकाले विपद् व्यवस्थापन खर्चबाट ५ लाख ५ हजार, जनप्रतिनिधिको सेवा–सुविधाबाट १ लाख ६ हजार २८३ र स्थायी तथा करार कर्मचारीको तलब–भत्ताबाट ५ लाख ८५० रुपैयाँ उपलब्ध गराउनेछ।
त्यस्तै, गाउँपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब–भत्ताबाट ७ लाख ९० हजार ५०० रुपैयाँ संकलन गरी कोषमा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए।