सिरहा , भदौ १९
स्रोत नखुलेको १३ लाख ९२ हजार ४ सय रुपैयाँसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ३५ वर्षीय शम्भु महाशेठ रहेका छन्। उनलाई बिहीबार साँझ सिरहा नगरपालिका–७ स्थित हेमनारायण चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हुण्डी कारोबारमा प्रयोग हुने रकम बोकेर हिँडिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महाशेठलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट विभिन्न दरका १३ लाख ९२ हजार ४ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
रकमको स्रोत खुलाउने प्रमाण तथा कागजात पेस गर्न नसकेपछि उनलाई रकमसहित नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साभार:
घण्टाघर टिभी