पर्सा , भदौ २१ –
सैनिक पोशाक र नेपाली सेना तथा सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको संस्थाको दर्ता हालै खारेज गरिएको उच्च सैनिक स्रोतले जनाएको छ । दर्ता खारेज भएसँगै संस्थाका गतिविधिमा समेत प्रतिबन्ध लागेको बताइएको छ ।
भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा संस्थाका सदस्यहरू फिल्डमा देखिएपछि यसको गतिविधि विवादमा आएको थियो । संस्थाले हरियो प्यारामिलिटरी पोशाक, दज्र्यानी चिह्न तथा ‘मार्शल’, ‘क्याडेट’ जस्ता सैन्य संरचनासँग मिल्दोजुल्दो पद प्रयोग गर्दै आएको थियो ।
सैनिक स्रोतका अनुसार संस्थालाई यस्तो पोशाक प्रयोग गर्न विगतमा अनुमति दिइएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि उक्त अनुमति कसरी दिइयो भन्नेबारे प्रशासनले बुझिरहेको बताएका छन् ।
‘ग्रिन आर्मी’ समाज कल्याण परिषद्सँग समेत सामाजिक कार्यका लागि आबद्ध थियो । परिषद्का सदस्य सचिव चक्रबहादुर बुढाले भने हालसम्म यसको आबद्धता खारेज नभएको बताएका छन् ।