कायरो , भदौ २१ –
इजिप्टको एक अदालतले टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई लागूऔषध उत्पादन तथा ओसारपसारको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
३९ वर्षीया खलिफा ‘मिसन इम्पोसिबल’ टिभी कार्यक्रमका लागि परिचित थिइन् । अदालतको फैसला सुनाइएपछि उनले आफू निर्दोष रहेको दाबी गर्दै आफूले जीवनमा कहिल्यै चुरोटसमेत नपिएको बताएकी थिइन् ।
अल–अहरामका अनुसार खलिफासहितका प्रतिवादीले लागूऔषध उत्पादनका सामग्री खरिद गरी अवैध लागूऔषध उत्पादन तथा ओसारपसार गर्ने संगठित गिरोह सञ्चालन गरेको आरोप लगाइएको थियो । अनुसन्धानका क्रममा ७५० किलोभन्दा बढी लागूऔषध तथा कच्चा पदार्थ, प्रयोगशालाका रूपमा प्रयोग गरिएका दुई अपार्टमेन्ट र अवैध हतियार तथा गोलीगठ्ठा बरामद गरिएको थियो ।
अदालतले धार्मिक राय लिएपछि मृत्युदण्डको फैसला गरेको हो । यद्यपि फैसलाविरुद्ध पुनरावेदन गर्न सकिनेछ । खलिफासहितका प्रतिवादीलाई एक युवकको अपहरण तथा आक्रमणसम्बन्धी छुट्टै मुद्दामा पाँच वर्षको जेल सजायसमेत सुनाइएको छ ।