वीरगंजको मुख्य सडक विस्तारमा धार्मिक संरचना जोगाइने, प्रभावितलाई नक्सापासमा छुट
वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक संरचना यथास्थानमै संरक्षण गरिने भएको छ।
सोमबार सडक विस्तारबाट प्रभावित घरधनीका प्रतिनिधिसँग भएको छलफलमा महानगर प्रमुख राजेशमान सिंहले महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाहलगायत संरचना संरक्षण हुने बताएका छन्।
उनका अनुसार धार्मिक संरचनालाई समेत ध्यानमा राखेर सडक विस्तारको डीपीआर तयार गरिएको छ। सडक विस्तारपछि नयाँ संरचना निर्माण गर्दा कायम गर्नुपर्ने ५ फिट सेडब्याकको व्यवस्थामा समेत आवश्यक पुनर्विचार गरिने उनले बताएका छन्।
सडक विस्तारबाट प्रभावित घरधनीलाई नयाँ संरचना निर्माणका लागि नक्सापासमा आवश्यक छुट तथा सहुलियत उपलब्ध गराउने तयारी रहेको सिंहले बताएका छन्। त्यसका लागि आगामी नगरसभाबाट आवश्यक निर्णय गरिने उनको भनाइ छ।
छलफलमा प्रभावित घरधनीका प्रतिनिधिहरूले सडक विस्तारका क्रममा आफूहरूले भोग्नुपरेका समस्या, क्षति तथा पुनर्निर्माणका व्यावहारिक कठिनाइबारे महानगर प्रमुखको ध्यानाकर्षण गराएका थिए।