बारा, १७ भदौ: जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित ढुङ्ग्रे पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भीषण दुर्घटना भएको छ। आज दिउँसो करिब १२:०० बजे भएको उक्त दुर्घटनामा परि एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
पथलैयाबाट चपुरतर्फ जाँदै गरेको बा.प्र.–०६–००८ प ३२३० नम्बरको मोटरसाइकल र सुनसरीबाट पोखरातर्फ जाँदै गरेका ग १४ प २४१ तथा ग १६ प ५७८१ नम्बरका दुवै मोटरसाइकलहरू आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन्।
बा.प्र.–०६–००८ प ३२३० नम्बरको मोटरसाइकल चालक, जिल्ला चितवन खैरहनी नगरपालिका–६ बस्ने अन्दाजी ४६ वर्षका रन्जन शर्मा पौडेल (दिवाकर पौडेलका छोरा)। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि एल.एस. न्युरो अस्पताल, परवानिपुर, बारा लगिएकोमा चिकित्सकले दिउँसो १:१५ बजे मृत घोषणा गरेका थिए। उनको शव हाल सोही अस्पतालमा राखिएको छ।
ग १४ प २४१ नम्बरको मोटरसाइकल चालक, जिल्ला सुनसरी बर्जु गाउँपालिका–५ बस्ने अन्दाजी २७ वर्षका खगेन्द्र पण्डित घाइते भएको र उनको ढाड, खुट्टा र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
ग १६ प ५७८१ नम्बरको मोटरसाइकल चालक, सुनसरी बर्जु गाउँपालिका–५ बस्ने अन्दाजी २५ वर्षका राम शरण पण्डित घाइते भएको र उनको पनि ढाड, खुट्टा र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
घाइते दुवै जनाको एल.एस. न्युरो अस्पताल, परवानिपुरमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाटप्र.व.ना.नि. युवराज दाहालको कमाण्डमा ४ जना, इलाका ट्राफिक प्रहरी कार्यालय निजगढ बाराबाट प्र.नि. हरी भट्टराईको कमाण्डमा ४ जना र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्र.ना.उ. दया कृष्ण भट्टको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिई उद्धार कार्य गरेको थियो।
हाल राजमार्गमा यातायात सेवा सुचारुकृत गरिएको छ भने दुर्घटनामा परेका तीन वटै मोटरसाइकलहरू प्रहरीको नियन्त्रणमा रहेका छन्।