सर्लाही , भदौ १७ –
सर्लाहीको बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीको समूहले कुटपिट गरेको छ।
विद्यालयमा भएको सरसफाइ कार्यक्रममा छात्राहरूमाथि असभ्य शब्द प्रयोग गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार झालाई विद्यालय परिसरमै लछारपछार गर्दै कुटपिट गरेका हुन्। विद्यार्थीले माफी माग्न आग्रह गरे पनि झाले अस्वीकार गरेपछि घटना भएको बताइएको छ।
कुटपिटका क्रममा झालाई अर्धनग्न पारिएको तथा उनको निजी गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ। घटनापछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बलरा–२ का २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए।
प्रधानाध्यापक झाले भने आफूले कुनै छात्रामाथि असभ्य शब्द प्रयोग नगरेको दाबी गरेका छन्। बलरा नगरपालिकाले घटनाबारे छानबिन समिति गठन गरी प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने जनाएको छ।