पर्सा , भदौ १७ –
भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुमा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भदौ ११ गते राति करिब ११ः४५ बजे स्थानीय भदौरे मेलामा आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ निवासी ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका कारण केही व्यक्तिले कुटपिट गरेका थिए। राई स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत थिए।
कुटपिटपछि राईको मृत्यु भएको मौखिक सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ १२ गते ११ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा १९ देखि ४८ वर्ष उमेर समूहका प्रवेश भन्ने सागर कोयी राई, मौली भन्ने प्रतिक राई, माइकल भन्ने निशान राई, सुशील राई, शेरबहादुर भन्ने अमर राई, उमेश दुमी राई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन्।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत भोजपुरले भदौ १४ गते ५ दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिएका छन्।