जनकपुरधाम , असोज ५ –
मधेस प्रदेश सरकारले स्वास्थ्य सेवामा आवश्यक जनशक्ति व्यवस्थापनका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रदेशको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणको टुङ्गो नलागेसम्म स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अस्थायी दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईले बताएका छन्।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा पदाधिकारी र सदस्यका निजी तथा स्वकीय सचिवालयको संगठनात्मक संरचना र कर्मचारी सङ्ख्या पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ पनि स्वीकृत गरेको छ। प्रतिवेदनका सुझाव तथा सिफारिस आवश्यक कानुनी प्रक्रिया पूरा गरी कार्यान्वयन गर्ने निर्णय भएको छ।
त्यस्तै, स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, सर्त, सुविधा तथा वृत्ति विकासलाई व्यवस्थित गर्न ‘स्थानीय तह (गठन तथा सञ्चालन) सम्बन्धी ऐन, २०८१’ संशोधन विधेयकको मस्यौदा प्रदेशसभाको आगामी अधिवेशनमा पेस गर्ने निर्णय गरिएको छ।