वीरगंज , असोज १ –
आज असोज १ गते विश्वकर्मा पूजा मनाइँदैछ । हिन्दु धर्मावलम्बीले फलामे औजार, कलकारखाना, मेसिन तथा सवारीसाधनको पूजा गरी विश्वकर्मा दिवस मनाउने गर्छन् ।
विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा ग्यारेजहरू सजाएर विशेष पूजा गरिन्छ भने सवारीसाधन धोएर रिबन तथा ध्वजापताकाले सजाउने गरिन्छ । पूजा गरिएका औजार तथा मेसिन दिनभर प्रयोग नगर्ने चलनसमेत रहेको छ ।
कतिपय स्थानमा विश्वकर्माको मूर्ति स्थापना गरी पूजा तथा प्रसाद चढाउने र भोलिपल्ट नदी वा खोलामा विसर्जन गर्ने गरिन्छ । विशेषगरी मधेश तथा तराईका विभिन्न जिल्लामा विश्वकर्मा पूजा धुमधामका साथ मनाउने गरिन्छ ।
विश्वकर्माको पूजा गर्दा फलामे औजार तथा मेसिन लामो समयसम्म टिक्ने र काममा सफलता तथा मुनाफा हुने जनविश्वास रहेको छ । यस अवसरमा फलामका क्षेत्रमा काम गर्ने मजदुरलाई बिदा दिने चलनसमेत छ ।