सिमरा असोज ३ –
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा मेनरोडस्थित होटलमा साथीको हत्या गरेको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा–२ पाँचधुरेका २५ वर्षीय आयुष राई रहेका छन्। शनिबार साँझ ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार गरी फरार भएका राईलाई प्रहरीले सोही राति जीतपुरसिमरा–१६ महेन्द्रनगरको धानखेतबाट पक्राउ गरेको हो।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। होटल सञ्चालिकालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले बताएका छन्।
प्रहरीका अनुसार खाजा खान बसेका समूहबीच विवाद भएपछि होटलको किचेनमा रहेको मासु काट्ने चक्कुले खड्काको घाँटीमा प्रहार गरिएको थियो। गम्भीर घाइते खड्कालाई उपचारका लागि वीरगञ्ज पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।