एजेन्सी , असोज ५ –
भारतको तमिलनाडुको माथलमपारै गाउँमा रहेको कार्यालयबाट सञ्चालन हुने जोहो कर्पोरेसन विश्वका ठूला प्रविधि कम्पनी माइक्रोसफ्ट, गुगल र सेल्सफोर्ससँग प्रतिस्पर्धा गरिरहेको भारतीय कम्पनी हो। कम्पनीका अनुसार उसका १५ करोडभन्दा बढी प्रयोगकर्ता छन् भने ६० भन्दा बढी उत्पादन १५० भन्दा बढी देशमा प्रयोग भइरहेका छन्।
सन् १९६८ मा तमिलनाडुमा जन्मिएका जोहोका संस्थापक श्रीधर वेम्बूले आईआईटी मद्रासबाट इन्जिनियरिङ र अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। उनले सन् १९९६ मा क्वालकमको जागिर छाडेर एडभेन्टनेट स्थापना गरेका थिए, जसले पछि सन् २००९ मा जोहो कर्पोरेसनको रूप लियो।
जोहोले ठूलो बाह्य लगानीबिना ग्राहकबाट प्राप्त आम्दानीकै आधारमा व्यवसाय विस्तार गरेको छ। आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको सञ्चालन आम्दानी १ खर्ब २३ अर्ब १३ करोड भारतीय रुपैयाँ पुगेको थियो भने खुद नाफा ३१ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।
जोहोको अर्को विशेषता ग्रामीण क्षेत्रमा प्रविधि र रोजगारी विस्तार गर्नु हो। कम्पनीले तमिलनाडुको तेन्कासीसहित विभिन्न साना सहरमा कार्यालय तथा तालिम केन्द्र सञ्चालन गरेको छ। श्रीधर वेम्बू पनि सन् २०१९ देखि माथलमपारैमा बस्दै आएका छन्।
कम्पनीले विश्वविद्यालयको डिग्रीभन्दा व्यावहारिक सीपलाई प्राथमिकता दिँदै ‘जोहो स्कुल्स अफ लर्निङ’मार्फत युवालाई निःशुल्क प्राविधिक तालिम दिँदै आएको छ।
हाल कम्पनी एआई प्रविधिमा केन्द्रित छ। जोहोले ‘जिया’सहित एआईमा आधारित विभिन्न सेवा विकास गरिरहेको छ। सन् २०२५ जनवरीमा श्रीधरले प्रमुख कार्यकारीको जिम्मेवारी छाडेर ‘चिफ साइन्टिस्ट’का रूपमा अनुसन्धान तथा विकासमा ध्यान केन्द्रित गरेका छन्।