वीरगंज , भदौ २० –
सडक विस्तार तथा अतिक्रमण हटाउने क्रममा संरचना भत्काइएपछि वीरगंजको मुख्य बजार क्षेत्रका अधिकांश सिसिटिभी क्यामेरा बन्द भएका छन्। क्यामेरा निष्क्रिय हुँदा शहरको सुरक्षा निगरानीमा चुनौती थपिएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत मुख्य सडक विस्तारको काम अघि बढाएपछि क्यामेरा जडान गरिएका निजी तथा सार्वजनिक संरचना भत्काइएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार सिसिटिभी फुटेजले विगतमा आपराधिक घटनाको अनुसन्धान र संलग्न व्यक्तिको पहिचानमा महत्वपूर्ण सहयोग गर्दै आएको थियो। मुख्य सडकका क्यामेरा बन्द भएपछि अपराधीको आवतजावत पत्ता लगाउन कठिनाइ भएको उनले बताएका छन्।
प्रहरीले मुख्य सडक क्षेत्रमा पुनः सिसिटिभी सञ्चालनका लागि सेफर वीरगंज, वीरगंज उद्योग वाणिज्य संघ, स्थानीय तह तथा अन्य निकायसँग समन्वय गरी वैकल्पिक स्थानमा क्यामेरा जडान गर्ने तयारी भइरहेको जनाएको छ।