वीरगंज , भदौ १८ –
चाचान ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगपति बाबुलाल चाचानले भोटेकोशी–त्रिशूली बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्।
चाचान ग्रुपअन्तर्गतका उद्योग तथा प्रतिष्ठानबाट ५१ लाख रुपैयाँ र मारवाडी सेवा ट्रस्ट वीरगंजबाट १ लाख ११ हजार रुपैयाँ गरी कुल रकम बुधबार कोषमा जम्मा गरिएको हो।
ग्रुपका अनुसार नारायणी आयल रिफाइनरीबाट ४१ लाख, नारायणी मोर्डन प्लस इन्डस्ट्रिजबाट ५ लाख र आदर्श पोली प्लास्टिक प्रालिबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ।
उक्त रकम एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो। चाचानले विपद्को समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए।