वीरगंज , भदौ १४ –
नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका छन्।
सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने १ लाख २० हजार रुपैयाँ बराबरको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका हुन्।
हाल एसीसी प्रिमियर कपका लागि मलेसियामा रहेका सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा रहे पनि मन भने नेपालमै रहेको बताएका छन्। उनले बाढीका कारण प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रतियोगिताभर नेपालको प्रदर्शन प्रभावित नेपालीमा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।
सन्दीपले प्रतियोगितासँग जोडिएको अर्को सहयोगको घोषणा पनि गरेका छन्। एसीसी प्रिमियर कपमा नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत पनि १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने उनले बताएका छन्।
‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन’ भन्दै सन्दीपले हरेक विकेट, हरेक बाउन्ड्री र हरेक हुटिङ नेपालकै लागि हुने उल्लेख गरेका छन्।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।
एसीसी प्रिमियर कपको समूह चरणमा नेपालले बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।