वीरगंज , भदौ १३ –
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुगेको छ ।
नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ६१६ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा २३३ जना रहेका छन् ।
त्यस्तै, नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । बाढी तथा प्रभावित क्षेत्रमा उद्धार, खोजी र सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या २ हजार ३०१ पुगेको छ । जसमा रसुवाका ६७६, नुवाकोटका १ हजार ६२२ र धादिङका ३ जना रहेका छन् ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको नेपाल प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा प्रहरीसहितका सुरक्षा निकायले खोजी, उद्धार तथा राहत व्यवस्थापनलाई निरन्तरता दिइरहेका छन् ।