वीरगंज , भदौ – १४
चीनले बाढी तथा पहिरो प्रभावित नागरिकका लागि नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
राहत सामग्री लिएर चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चिनियाँ दूतावासका अनुसार ती विमानमा पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक, प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ।
दुवै विमानले चीनको छेन्दुस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका विमानमार्फत राहत सामग्री नेपाल ल्याइएको हो।
राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उपकरणसहित नेपाल आएका छन्। उनीहरूले विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यमा आवश्यक प्राविधिक सहयोग गर्ने जनाइएको छ।
नेपाललाई उपलब्ध गराइएको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो।
बाढी तथा पहिरोबाट देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला चीनले उपलब्ध गराएको उक्त राहत सामग्री प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न उपयोगी हुने अपेक्षा गरिएको छ।