वीरगन्ज, ३० जेष्ठ : वीरगनणज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकाहरुको भविष्यका लागि शिक्षा र समाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताएका छन् ।
वीरगन्ज महानगरपालिकाको सहयोगमा नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा बोल्दै मेयर सिंहले आफूले वीरगन्जको विकासका लागि दीर्घकालिन सोचका साथ काम गर्न खोजेको बताए ।
विगतका दिनमा सहीलाई सही र गलतलाई गलत भन्न नसकेकै कारणले वीरगनणज विकासमा पछि परेको बताउँदै उनले अहिलेका पुस्ताले सही कुरा गर्न कसैसँग डराउनुपर्ने आवश्यकता नरहेको बताए । समाजमा भएको गलत क्रियाकलापहरुको खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले शिक्षा र सामाजिक क्षेत्रको विकास नै स्थानीय तहको विकासको मानक हुने भएकोले यसको लागि शिक्षा क्षेत्रमा ऐनले व्यावस्था गरे अनुसार हरेक सामुदायिक र संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलापमा पनि जोड दिएकाे जिकिर गरे ।
बालश्रम, बालमैत्री शासनको विषयमा महानगरपालिकाले लिएको नीतिको बारेमा सहभागी बालबालिकाहरुले गरेको प्रश्नको जवाफ दिदै उनले बोलीमा भन्दा पनि व्यवहारमा देखिने काम गर्ने प्रतिबद्धता जनाए ।
विगतमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको, बालमैत्री वडा घोषणा गरिएको भए पनि अहिले फेरी उस्तै अवस्था देखिएकोले त्यसलाई दीर्घकालिन रुपमा समाधान गर्न र सडक बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र भविष्यको विषयमा पनि महानगरपालिकाले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्ने उनले बताए ।
The post महानगरले शिक्षा र समाजिक क्षेत्रमा सुधारको सुरुवात गरेको छ : मेयर सिंह appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया