बारा,१३चैत :हिमालयन शेर्पा क्लब, बाराकाे सिमरामा जारी १३ओै जपतपुरसिमरा गाेल्डकप फुटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
सिमरा रंगशालामा साेमबार बेलुकी भएकाे खेलमा सातदोबाटो युथ क्लबलाई २–१ गाेलले पन्छाउँदै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे ।
पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो ।
पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका डिफेण्डर म्यानुअल नानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोलपोष्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदिपले लिएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशिल राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडर मार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्स भित्र सटिक पास उपलब्ध गराएका थिए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केहि सेकेण्ड बाँकी छँदा टिमलाई खेलमा फर्काए ।
दोश्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमा मकवानपुर ११ संगको भेट पक्का गरेका हुन्।
हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ संग प्रतिस्पर्धा गर्नेछ ।
साेमबारकाे खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम सशस्त्र प्रहरीकाे एपिएफ क्लबको सामना गर्नेछ ।
The post सिमरा गाेल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया