
मधेसखबर
वीरगन्ज,१६ फागुन : डेढ महिना यता वीरगन्ज महानगर क्षेत्रमा १ सय ५० बढी सडकका कुकुर मारिएपछि पशु अधिकारको क्षेत्रमा कार्यरत संस्थाले विरोध गरेका छन् । सुमार्ग बिन्दु आमा फाउन्डेशन नेपालले कुकुर मारिएको घटनाको विरोध गरेको हो ।
संस्थाकी अध्यक्ष प्रतिभा कोइरालाले माघयता दुई चरणमा गरी वीरगन्ज महानगरको विभिन्न क्षेत्रमा अज्ञात समूहले बिष खुवाएर सामुदायिक सडक कुकुर मारेको दाबी गरिन् । पछिल्लो पटक सोमबार राति वीरगन्ज महानगरको गणेशमान चोक, मकालु चोक, घण्टाघर क्षेत्रमा चार दर्जन कुकुरलाई अज्ञात समूहले बिष खुवाएर मारेको उनले दाबी गरिन् ।
सोमबार राति करिब पउने १२ बजेको समयमा आफूलाई टेलिफोनबाट स्थानीयले मकालु होटल तथा गणेशमान चोक क्षेत्रमा कुकुर छटपटाइरहेको सूचना दिएपछि आफू तत्कालै घटनास्थलमा पुग्दा कुकुरलाई बिष खुवाइएको लक्षण देखिएको बताइन् ।
‘म मकालु होटलनजिक पुग्दा त्यहा २ वटा कुकुर छटपटाइरहेका थिए, मैले पानी खुवाएर उद्धारको प्रयास पनि गरे, तर बचाउन सकिएन,’ उनले भनिन्, ‘त्यसैरात नाम र नम्बर प्लेट समेत नलेखिएको एउटा ट्याक्टर लिएर आएका ३÷४ जना अज्ञात व्यक्तिहरुले मृत कुकुर संकलन गरेर लगेको मसंगै केही स्थानीयले समेत देखेका थियौं, तीनलाई सोधपुछ गर्न खोज्दा केही नभनि ट्याक्टर लिएर भागेका थिए ।’ उनीहरुले आफ्नो पहिचान लुकाउन मास्क लगाएको समेत कोइरालाले दाबी गरिन् ।
महानगरपालिकाले यसरी कुकुर मार्ने अभियान चलाएको आशंकाश भए पनि हाललाई कुकुर मार्ने अभियान नचलाएको जवाफ दिएको कोइरालाले बताइन् । ‘मैले मेयर राजेशमान सिंहलाई पनि घटना बारे जानकारी गराए,’ उनले भनिन्, ‘उहाले पनि महानगरपालिकाको सामुदायिक कुकुर मार्ने कुनै योजना नरहेको जवाफ दिनुभयो ।’ सोमबार राति गणेशमान चोक, मकालु होटल, घण्टाघरलगायतको क्षेत्रमा आफूले ८ वटा सामुदायिक कुकुर मरेको प्रत्यक्ष देखेको उनले दाबी गरिन् । ती क्षेत्रमा बिगतमा धेरै सामुदायिक कुकुर देखिने गरेकोमा हाल शून्य बराबरनै पुगेको उनले बताइन् ।
यसअघि माघ पहिलो सातामा पनि यसरी कुकुर मार्ने अभियान चलाएको र त्यतिबेला १ सयको हाराहारीमा सामुदायिक कुकुर मारिएको उनले दाबी गरिन् । कुकुर मार्ने अभियानबिरुद्ध तथा पशु अधिकारको सम्बन्धमा जनचेतनामूलक व्यानर आफूले महानगरको बिभिन्न स्थानमा राखेकोमा नगर प्रहरीले ती व्यानर हटाइदिएको उनले आरोप लगाइन् । यसरी सामुदायिक कुकुरलाई बिष खुवाएर मार्नु गैरकानूनी काम हो । त्यस्ता व्यक्ति वा समूहको खोजी गरी कारवाहीको दायरामा ल्याउनु पर्ने उनले माग गरिन् ।
वीरगन्ज महानगरमा हाल करीब १० हजार सामुदायिक कुकुर रहेको संस्थाको अनुमान रहेको कोइराला बताउछिन् । संस्थाले गत बर्ष पशु विज्ञ केन्द्र वीरगन्जको सहयोगमा १ हजार ५ सय सामुदायिक कुकुरलाई एन्टी रेविज भ्याक्सिन लगाएको उनले बताइन् । कुल सामुदायिक कुकुर मध्ये करीब ७० प्रतिशतमा लुतोको समस्या समेत रहेको उनले बताइन् । कान्तिपुर /शंकर अचार्य
The post वीरगन्जमा सडकका कुकुरहरु मारेकोमा पशु अधिकारकर्मीको विरोध appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया