Menu

आजको मौसम

एउटा डकुमेन्ट्रीबाट प्रेरित छोरा एमबीबीएस छात्रवृत्तिमा छनोट

Author
News Feed |
November 19, 2026
Featured

पर्सा , मङ्सिर ३-

एमबीबीएस अध्ययनका लागि खुलातर्फ १४७औँ र्‍याङ्कमा छात्रवृत्ति प्राप्त गरेपछि नरेन्द्र किराती राईले छोरालाई बधाईभन्दा धन्यवाद र आशीर्वाद दिएका छन्।

छोराको सफलतापछि सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै नरेन्द्रले छोरालाई डाक्टर बनाउने आफ्नो वर्षौँदेखिको सपना र त्यसका लागि गरेको प्रयास सम्झिएका छन्। उनले आफू छोराका लागि केही कठोर पिता भए पनि आजको उपलब्धिले खुसी र गर्व महसुस भएको बताएका छन्।

नरेन्द्रले छोरालाई कक्षा ९ मा सरकारी विद्यालयमा भर्ना गराएकोदेखि विज्ञान विषय पढ्न प्रेरित गरेकोसम्मका अनुभव सुनाएका छन्। छोराले लाहुरे बन्ने र व्यवस्थापन विषय पढ्ने इच्छा देखाउँदा पनि आफूले डाक्टर बनाउने लक्ष्यअनुसार अघि बढ्न प्रेरित गरेको उनले उल्लेख गरेका छन्।

छोराको सोच बदल्न चर्चित सञ्चारकर्मी विद्या चापागाईंको ‘हेर्ने कथा’ अन्तर्गतको ‘डाक्टरको गाउँ’ नामक डकुमेन्ट्री देखाएको प्रसंग पनि उनले सम्झिएका छन्। डकुमेन्ट्री हेरेपछि छोरालाई डाक्टर बन्न प्रस्ताव गर्दा उनले ‘म ट्राई गर्छु’ भनेका थिए। त्यही प्रयासले अहिले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने अवस्थासम्म पुर्‍याएको नरेन्द्रको भनाइ छ।

कतारमा काम गर्ने क्रममा आफू बिरामी हुँदा अस्पतालमा डाक्टर खोज्दै हिँड्नुपरेको अनुभवले छोरालाई डाक्टर बनाउने सङ्कल्प जन्माएको उनले बताएका छन्। त्यही समयदेखिको सपना अहिले पूरा हुने दिशामा अघि बढेको भन्दै उनले खुसी व्यक्त गरेका छन्।

छोराले एमबीबीएस छात्रवृत्ति प्राप्त गरेपछि नरेन्द्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म छोरालाई कहिल्यै बधाई दिइनँ। आज एमबीबीएस खुलातर्फ १४७औँ र्‍याङ्कमा छात्रवृत्ति पाएकोमा बधाईभन्दा पनि आलाङ्ने (धन्यवाद) साथै आशीर्वाद भन्छु।’

उनले छोरालाई पितृ माङ्गको आशीर्वाद सधैँ मिलिरहोस् भन्दै शुभकामना पनि दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3