प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतको आदेशमा विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँस गरेको छ ।
गिरीले स्वास्थ्य उपचारका लागि बाहिर रहेको र १५ गतेभित्र नेपाल फर्किएर बयान दिने बताएका छन्, साथै प्रहरी र प्रशासनविरुद्ध धम्कीको भाषा प्रयोग गरेका छन् ।
प्रहरीले गिरी र उनको परिवारको नाममा रहेको करिब ४५ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोतमाथि अनुसन्धान गरिरहेको छ ।
विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि बयान दिन बोलाउँदा उपस्थित नभएपछि जिल्ला प्रहरी कार्यालय मोरङले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँस गरेको छ ।
प्रहरीले घरको भित्तामा सूचना टाँसेपछि गिरीले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफू स्वास्थ्य उपचारका लागि बाहिर रहेको र १५ गतेभित्र नेपाल फर्किएर बयान दिने बताएका छन् । साथै, उनले भिडियोमार्फत प्रहरी र स्थानीय प्रशासनविरुद्ध आक्रोश पोख्दै धम्कीको भाषासमेत प्रयोग गरेका छन् ।
आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोपमा मोरङ प्रहरीले गिरीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । सोही क्रममा दसीप्रमाण तथा आवश्यक कागजातसहित बयानका लागि उपस्थित हुन भन्दै प्रहरीले कात्तिक १९ गते हुलाकमार्फत पत्र पठाएको थियो । तर, पत्र बुझ्ने व्यक्ति नभेटिएपछि र तोकिएको सात दिनको समयभित्र पनि गिरी सम्पर्कमा नआएपछि प्रहरीले शुक्रबार उनको घरको भित्तामा सूचना टाँस गरेको हो ।
पक्राउ पर्ने सूचना पाएपछि गिरी फरार रहेको र उनी गत असोजदेखि भारतमा बस्दै आएको प्रहरी स्रोतको दाबी छ । मोरङ कारागारका कैदीबन्दीलाई वितरण गर्नुपर्ने १३ लाख रुपैयाँभन्दा बढी भत्ता गायब भएको घटनामा गिरी गत असार १३ गते पक्राउ परेका थिए । उच्च अदालत विराटनगरको आदेशपछि म्याद थप हुन नसक्दा असार २३ गते रिहा भएका उनलाई सोही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनः पक्राउ गरेको थियो ।
साउन २१ गते छुटेका उनलाई मोरङ प्रहरीले फेरि नियन्त्रणमा लिएकोमा उजुरीकर्तासँग मिलापत्र भएपछि रिहा भएका थिए । त्यसयता सार्वजनिक रूपमा नदेखिएका उनी पक्राउ पर्ने डरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समेत सहभागी नभएको स्रोतको भनाइ छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरेर छुटेका गिरीमाथि कारागारभित्र असुली धन्दा चलाएको र निर्माण व्यवसायीको सम्पत्ति हडपेको आरोप लाग्दै आएको छ ।
प्रहरीले गिरी र उनका परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको स्रोतमाथि अनुसन्धान गरिरहेको छ । मोरङका प्रहरी प्रमुख कोवित कटुवालले गिरी र उनको परिवारको सम्पत्तिमाथि अनुसन्धान भइरहेको बताए । ‘लगभग आधा अर्ब हाराहारीको सम्पत्ति गैरकानुनी छ भन्ने हामीले हेरेका छौँ । हो–होइन भन्ने कुरा गिरीसँगको बयान र उनले दिने प्रमाणको आधारमा न्यायिक निरुपण हुने विषय हो,’ कटुवालले भने ।
श्रीमतीको नाममा जग्गैजग्गा
विराटनगर–८, मधुमराका ४८ वर्षीय अभिषेक गिरीले उनकी श्रीमती सोनु आचार्यको नाममा जग्गा खरिद तथा दर्ता गरेको समय तालिका भने २०८० देखि २०८२ को अवधिमै ९ ठाउँमा जग्गा जोडेको देखिएको छ । काठमाडौँको बुढानीलकण्ठ क्षेत्र अति महँगो र सुविधायुक्त क्षेत्र मानिन्छ । मालपोत कार्यालयको अभिलेख अनुसार काठमाडौँको साबिक विष्णु गाविस हाल बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा अवस्थित कित्ता नम्बर १०३९ को २१७.०१ वर्गमिटर क्षेत्रफलमा फैलिएको घर र जग्गा सोनु आचार्यको नाममा एकलौटी स्वामित्व रहने गरी दर्ता भएको छ ।
२०८२ साल कार्तिक २८ गते राजीनामा लिखत पारित गरी यो घरजग्गा आचार्यको नाममा सारिएको देखिन्छ । यस्तै मोरङको साबिक कटहरी गाविस हाल कटहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको साबिक कित्ता नम्बर १९२ को कुल १८२२.३७ वर्गमिटर क्षेत्रफल भएको जग्गा सोनु आचार्यको नाममा २०८० साल मंसिर २५ गते दर्ता भएको छ । आवासीय प्रयोजनको यो जग्गा खरिद गर्न प्रयोग गरिएको आर्थिक स्रोतको वैधतामाथि अहिले प्रश्न उठेको छ ।
यसैगरी मोरङकै बबियाविर्ता वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३७९ को ४६५५.५२ वर्गमिटर जग्गा २०८२ साल असोज २७ गते सोनु आचार्यको नाममा नामसारी भएको छ । सोही वडामा रहेका कित्ता नम्बर १०८, १११, १०५, र १०६ का अन्य जग्गाहरू पनि आचार्यको नाममा दर्ता छन् । यी जग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूबाट तेस्रो पक्षले लिलाम सकार गरेपछि दाखेल खारेज प्रक्रियामार्फत सोनु आचार्यको नाममा ल्याइएका हुन् । यसरी बैंकको लिलामी प्रक्रियामा सहभागी भई करोडौँ मूल्य बराबरका जग्गा एकलौटी स्वामित्वमा ल्याउनका लागि आचार्यसँग कुन व्यवसाय वा स्रोतबाट रकम प्राप्त भयो भन्ने कुरा स्पष्ट छैन ।
मोरङकै विराटनगर उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित कित्ता नम्बर ६५८२ को ३३६.६३ वर्गमिटर क्षेत्रफल भएको अर्को जग्गा पनि २०८२ साल चैत १९ गते राजीनामा लिखत पारित गरी सोनु आचार्यको स्वामित्वमा ल्याइएको छ । यसका अतिरिक्त धनकुटा जिल्लाको साबिक कार्कीछाप हाल धनकुटा नगरपालिका वडा नम्बर ५ मा रहेको कित्ता नम्बर १२६३ को ५६२.४० वर्गमिटर क्षेत्रफल भएको व्यावसायिक जग्गा पनि सोनु आचार्यकै नाममा दर्ता छ । २०८२ साल साउन २१ गते यो जग्गा पनि राजीनामा लिखतमार्फत खरिद गरिएको हो । यी सबै जग्गाको कुल क्षेत्रफल जोड्दा हजारौँ वर्गमिटर हुन आउँछ । जसको चलनचल्तीको बजार मूल्य करोडौँ रुपैयाँ हुने सुरक्षास्रोत दाबी गर्छ ।
प्रहरीले घरमा सूचना टाँसेपछि सार्वजनिक गरेको भिडियोमा गिरीले अब मौन बसेर नहुने भन्दै प्रहरी र जिल्ला प्रशासन कार्यालयविरुद्ध आक्रोशपूर्ण भिडियो सार्वजनिक गरेका छन् । ‘तपाईंहरूले पनि के बुझ्नुस् भने अब म चुप लागेर बस्नेवाला छैन । आफ्नो कुरा राख्नेवाला छु र मलाई कुन–कुन ठाउँमा उभिनुपर्छ, म त्यो ठाउँमा उभिन तयार छु,’ आफ्नै फेसबुक आइडीमार्फत उनले भने ।
प्रहरी र प्रशासनप्रति लक्षित गर्दै उनले समय सधैँ एकनास नहुने चेतावनी दिएका छन् । ‘सबै जनाले एउटा कुरा के बुझ्नुपर्छ भने समय सबैको राम्रो–नराम्रो भन्ने आउँछ,’ उनले भनेका छन्, ‘दिन नआइकन केही हुनेवाला छैन, यो कुरा तपाईंले पनि बुझिराख्नुहोला । दिन आयो भने कसैले रोकेर रोकिने पनि वाला छैन । आज मलाई जसरी दुःख दिइराख्नुभएको छ, भोलि प्रभुको आँखा छ, प्रभुले पनि हेरिराख्नुभएको हुन्छ । तपाईंलाई पनि त्यो खालको पीडा पर्छ–पर्छ ।’
उनले प्रशासनमा रहेको घमण्ड नगर्न धम्की दिँदै उल्टै प्रशासनिक अधिकारीहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । ‘प्रशासनमा छु भनेरचाहिँ यो घमण्ड नगर्नुस्, भोलि तपाईंलाई पनि पर्छ । तपाईंको पनि सम्पत्ति छानबिन गर्नुपर्यो नि त ! तपाईंले कति भ्रष्टाचार गर्नुभएको होला, कति के–के छ, हामीलाई पनि त्यसको ज्ञान छ । तपाईंको पनि छानबिन होस् ।’
जिल्ला प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयले वास्तविक अपराध नियन्त्रण गर्नुको साटो चर्चाका लागि ‘स्टन्टबाजी’ र ‘नौटंकी’ गरिरहेको गिरीले आरोप लगाएका छन् । ‘नेपालमा अलिकति हिरो बन्ने, स्टन्टबाजी गर्ने, कामभन्दा नौटंकी गर्ने जुन व्यवहार चलेको छ, त्यसमा अहिले जिल्ला प्रमुखले, जिल्ला प्रशासन कार्यालयले यो खालको रोल प्ले गरिराख्नुभएको छ । पपुलर बन्न स्टन्टबाजी गर्ने, मिडियाबाजी गर्ने काममात्रै गरिरहेछ । त्यसलाई पनि एउटा कानुनी दायरामा ल्याउनुपर्छ र त्यसलाई पनि कारबाही हुनुपर्छ,’ गिरीले भने ।
मोरङमा तस्करी र मान्छेहरूको ज्यान जानेजस्ता ठुला घटना हुँदा प्रशासनको नियन्त्रण नरहेको र ती घटना छोपेर आफ्नो नाम उचालिएको उनको आरोप छ । भिडियोको अन्त्यमा उनले प्रहरी प्रशासनलाई चुनौती दिँदै भनेका छन्, ‘तपाईं पनि आफ्नो प्रमाणसहित तयार हुनुस्– सम्पत्ति शुद्धीकरण, मनी लाउन्ड्रिङको फेस गर्नलाई ।’
आफूविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरणको आरोपको खण्डन गर्दै गिरीले बैंकबाट लिएको ऋण र वैध कारोबार नदेखाई बैंक ट्रान्जेक्सनलाई मात्र आधार बनाइएको जिकिर गरेका छन् । सम्पत्ति शुद्धीकरणको मुद्दामा आफूले यसअघि नै विशेष अदालत, सर्वोच्च अदालत र फुल बेन्चबाट सफाइ पाइसकेको उनको जिकिर छ ।
‘मैले जुन पनि पैसाको स्रोत छ, त्यो स्रोत मसँग सुरक्षित छ । मनी लाउन्ड्रिङको कुरामा त मैले ऋण खाएको पैसा, मैले बैंकबाट लिएको र मैले काम गरेको पैसाहरू आएको पनि तपाईं नदेखाउने, सरकारलाई मैले ट्याक्स तिरिरहेछु त्यसको चाहिँ आधार नदेखाउने !,’ गिरीले भने, ‘व्यापार गर्ने मान्छेको बैंकमा ट्रान्जेक्सन नभएर के हुन्छ त ? पैसा बैंकमा नहालेर मैले कहाँ खाल्डो खनेर राख्ने हो त ? मैले त बैंकमा राखेको छु, कानुनी हिसाबले गएको छु । कतै लुकाउन गएको छैन । र त्यही कारण म आफ्नो प्रमाणसहित आउनेछु बयानको लागि ।’
प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमार्फत नचलाई आफूलाई बाइपास गरेर सोझै प्रहरीबाट कारबाही अघि बढाउन खोजेको आरोप लगाउँदै गिरीले आफू भागेर नहिँडेको दाबी गरेका छन् । ‘अहिले मेरो घरायसी अलिकति केही कुराहरूको इलाज गराउनलाई म यतातिर आएको छु र म १५ गतेभित्र फेरि नेपालमा आएर बयान गर्छु,’ उनले भनेका छन् ।
यसअघि चार–पाँच महिनाअगाडि पनि आफ्नो राजनीतिक करियर सिध्याउन ठुलो षड्यन्त्र भएको र हातहतियार तथा खरखजानाको मुद्दामा फसाउन घरमा खानतलासी गरिएको गिरीको आरोप छ । त्यतिबेला घरबाट बिलसमेत भएका नगद र सुनचाँदी प्रहरीले लगेर अझै फिर्ता नगरेको तथा ४०–४५ दिन हिरासतमा राख्दा पनि कुनै मुद्दा प्रमाणित गर्न नसकेपछि छोड्नुपरेको उनको दाबी छ । कानुनी राज्यमा प्रहरी निकायबाटै आफूमाथि अनावश्यक ह्यारेसमेन्ट र जिउज्यानकै खतरा पैदा गरिएको भन्दै उनले न्याय पाउनुपर्ने माग गरेका छन् ।