वीरगंज , कार्तिक २५ –
लोकआस्थाको महापर्व छठ नजिकिएसँगै वीरगञ्जको ऐतिहासिक घडीअर्वा पोखरीस्थित छठघाटमा तयारी तीव्र पारिएको छ। यस वर्ष छठपूजालाई भव्य, सभ्य र व्यवस्थित बनाउन छठपूजा व्यवस्थापन समिति तथा घडीअर्वा स्पोर्ट्स क्लब सक्रिय रूपमा जुटेका छन्।
समितिका अनुसार विगत एक महिनादेखि भइरहेको तयारीको काम हालसम्म करिब ८० प्रतिशत सम्पन्न भएको छ। बाँकी काम पनि छठ पर्वअघि नै पूरा गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ।
छठघाटमा आउने श्रद्धालु भक्तजनको सुरक्षा र व्यवस्थापनलाई प्राथमिकता दिइएको समितिले जनाएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल तथा विभिन्न क्लब र सामाजिक संघसंस्थासँग समन्वय भइरहेको समितिले बताएको छ।
यस वर्ष पनि छठी माताको आराधनाका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको समितिले जनाएको छ। गत वर्ष पनि सेनाले सलामी अर्पण गरेको थियो।
समितिले यस वर्ष घडीअर्वा पोखरीमा २ देखि ३ लाखसम्म श्रद्धालु भक्तजन आउने अनुमान गरेको छ। छठपूजा व्यवस्थापनका लागि करिब २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त रकम वीरगञ्जका व्यापारी, नागरिक समाज, चन्दादाता तथा विभिन्न सहयोगीबाट जुटाइने समितिले जनाएको छ। आर्थिक स्रोत संकलनका लागि २०० रुपैयाँको सहयोग चिठ्ठासमेत सञ्चालन गरिएको समितिले बताएको छ।
यसैबीच, छठपूजा व्यवस्थापन समिति र घडीअर्वा स्पोर्ट्स क्लबले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि छठपूजामा सहभागी हुन निमन्त्रणा पठाएका छन्। यहाँका प्रतिनिधिसभा सदस्यको माध्यमबाट प्रधानमन्त्रीलाई निमन्त्रणा पठाइएको समितिका सदस्य प्रभाकर गुप्ताले बताएका छन्।
प्रधानमन्त्री शाहको उपस्थितिले छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व थप बढ्ने विश्वास समितिले लिएको गुप्ताले बताएका छन्।
वीरगंजको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको घडीअर्वा पोखरीमा छठ पर्व भव्य रूपमा सम्पन्न गर्न सरसफाइ, सुरक्षा, बत्ती, सजावटलगायतका व्यवस्थापनलाई अन्तिम रूप दिइँदैछ।